काठमाडौं- आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरू हुँदैछ।
निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारका लागि मनोनयन पत्र दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। दर्तापछि दुवैतर्फका उम्मेदवारको नामावली आजै सार्वजनिक गरिनेछ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले सबै क्याम्पस निर्वाचन समितिले प्रक्रिया शुरू गर्ने जानकारी दिनुभयो। कार्यतालिकाअनुसार २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन दिनको ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ।
कार्यतालिकाअनुसार २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ। कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ।
त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ। मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा उपत्यकालगायत देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गतिविधि बढेको छ।
कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरेपछि सबै क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू हुने सम्भावना छ। स्ववियु भंग हुने त्रासले पनि विद्यार्थी संघसंगठनले निर्वाचन बिथोल्ने सम्भावना कम छ।
कार्यविधिमा निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र कुनै मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था उल्लेख छ।
यो वर्ष ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ तथा ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ। दुई वर्षअघि देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो। करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड त्रिविसँग छैन।
निर्वाचनअन्तर्गत जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ। निर्वाचनमा कुनै पनि तहको अन्तिम समेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षाहरू दिइसकेका विद्यार्थीले मतदान गर्न पाउने छैनन्।
निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दाखिल गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ। चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति फागुन २७ वा सोभन्दा पछिको जन्ममिति भएका विद्यार्थीले उम्मेदवारी दिन पाउने व्यवस्था छ।