मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर-४’ मा आज नेपाल श्रीलंकासँग भिड्दै छ।
खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार ११:४५ बजे सुरु हुनेछ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगेको हो।
समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका थिए।
तर रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेतामा सीमित भयो।
गत आइतबारदेखि जारी प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सहभागी छन्।
जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्।
पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्।
पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सहभागी छ।
उपकप्तानमा सोनी पाख्रिन छिन् भने टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन्। यसैगरी तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत पनि टोलीमा समावेश छन्।