काठमाडौं- न्युजिल्याण्डका स्कट कुगेलेइन सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन् ।
कुगेलेइन बुधबार नेपाल आइपुगेका हुन् । कुगेलेइनलाई सुदूरपश्चिम रोयल्स टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए ।
कुगेलेइनले न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि ट्वान्टी आई तीनै फर्म्याटमा खेलेका छन् । उनको आगमनले सुदूरपश्चिमको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । उनको आगमनले सुदूरपश्चिमलाई मात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास लिएको टिमले बताएको छ ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।
सुदूरपश्चिममा न्युजिल्यान्डका स्कट कुगेलेइन अलावा इङ्ग्ल्यान्डका सेफ अलि जेब, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरु टोलीमा समावेश गरेको छन् । सेफ पनि बुधवार नै नेपाल आइपुगि सकेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
त्यस्तै नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको तयारीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म एनपिएलको पहिलो संस्करण हुँदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।