काठमाडौं -नेपाली महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार एफसी महिला एसियन कप छनोटका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको हो। सूचीमा तीन विभागीय टोलीका ३५ खेलाडी छन्। गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडीहरु छानिएका हुन्। अर्को वर्ष भारतमा हुने महिला एसियन कपको छनोट अन्तर्गत नेपालले आफ्नो समूहको खेल आगामी सेप्टेम्बर १३ देखि २५ सेप्टेम्बर ९भदौ २८ देखि असोज ९० सम्म घरेलु मैदानमा खेल्ने तय छ।
बन्द प्रशिक्षणमा परेका खेलाडीमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई रहेका छन् ।
फिलिप्सले बोलाएको ४५ जनाको सूचीमा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन्। चोटका कारण उनी कतारमा उपचार गराउन गएकी छिन्। नेपाली टिमको बन्द प्रशिक्षण साउन ३ गतेबाट सुरु हुने एन्फाले जनाएको छ। नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स छन्। यस समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपमा छनोट हुनेछ।