काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न दुई दिने ‘वाग्मती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम’ पछि घोषणापत्र जारी गर्दै महिला विभागले यस्तो माग गरेको हो ।
“सहानुभूतिको ठाउँमा मात्र नभइ हिस्सेदारीको पनि समय भएकाले हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,” सचिव लक्ष्मी खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनकाअनुसार घोषणा पत्रमा वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने पनि माग गरिएको छ ।
बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसकेका कारण आपराधीहरु राज्यबाट नै संरक्षित भएको स्पष्ट हुने भेलाको ठहर छ ।
भेलाले दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि पनि माग गरेको छ । भेलाबाट बालिकाहरुलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिताका लागि पनि माग गरिएको सचिव खतिवडाले बताउनुभयो ।
महिलाको प्रजनन् र प्रसुति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क व्यवस्थाको सुनिश्चिता गर्न र वर्थिङ सेन्टरहरुलाई व्यवस्थित गरेर मातृ शिशु मृत्यदर कम गर्न पनि महिला विभागले माग गरेको छ ।