वीरगंज, चैत्र ३० ।
वीरगंजको एउटा मस्जिदमा बसिरहेका तीनजना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरु बसिरहेको छपकैया मस्जिद एरियालाई स्थानिय प्रशासनले पूर्णरूपमा सिल गरेको छ।
कोरोना संक्रमित फेला परेपछि त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न प्रदेश नम्बर २ सरकारले निर्देशन दिएको थियो । संक्रमण फैलिन नदिन वीरगंज महानगरपालिका २ छपकैयालाई सिल गर्न तथा संक्रमितहरुको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश सरकारले निर्देशन दिएको हो ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, व्यवस्थापन र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित सुरक्षा समितिको बैठकले पनि संक्रमितहरु बस्दै आएको वीरगंज–२ छपकैयास्थित रहेको मस्जिदलाई सिल गर्ने निर्णय गरेको छ । बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैया स्थित मस्जिद लगायतको क्षेत्रलाई सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
योसँगै वीरगंजमा संक्रमणको त्रास फैलिएको छ भने स्थानीवासी पनि त्रसित भएका छन् ।
अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा बार लगाएर आवागमन बन्द गरि ‘प्रवेश निषेध’ लेखिएको बोर्डहरु झुन्ड्याएका छन् ।
वीरगंज बहिरने र भित्रने ठाउँमा प्रवेश निषेध गरिएको छ। प्रहरी र एम्बुलेन्स गाडीबाहेक बाहेक सबैका लागि सडकहरु बन्द गरिएका छन् ।
वीरगंज महानगरपालिका–२ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले मस्जिद र अस्पताल वरीपरि आवातजावात समेत बन्द गरिएको छ।
पहिलेको तुलनामा अहिले सुरक्षा पनि कडा गरिएको छ भने टोल टोलमा प्रहरीले घरबाट बहिर ननिस्कन भन्दै माइकिङ्ग गरिरहेको छ।